०७९ माघ ११ ।
एक ३६ वर्षीया युवाले काठमाडौं बानेश्वरको व्यस्त सडकमा उभिएर आफैंमाथि आगो लगाए । काठमाडौं देशको राजधानी हो । बानेश्वरमा देशभरबाट जान्नेबुझ्ने भन्दै चुनिएकाहरू आउने संसद भवन छ ।
त्यो भवन उनी जलिरहेको सडकको छेउमै थियो । इलामका यी युवाले आफ्नो इलमको कथा जलाउनु अघि, फेसबुक पोस्ट मार्फत आफ्नो अनुभव, सुझाव, क्रान्ति प्रस्टसँग सार्वजनिक गरिदिए । युवाको नाम- प्रेमप्रसाद आचार्य ।
यो कुरा यसरी एकएक लेख्नु नपर्ने हो । कसले बिर्सेको होला र ! घटना घटेको एक हफ्ता पनि भएको छैन । समाचार, फेसबुक, ट्विटर सबतिर छ्याप्छ्याप्ती थियो ।
त्यही दिन सब नेपालीको मनमा, फेसबुक ‘प्रोफाइल पिक्चर’मा प्रेमको शरीर जलाउनेभन्दा भयानक आगो बलेको थियो । सबैले ‘हामी पनि जल्न नसकेका प्रेम हौं’ भन्दै आन्दोलन सुरु गर्दै थिए ।
तर त्यसको दुई दिनमै फ्याट्ट यता के भयो भने, हाम्रा गृहमन्त्री ‘अनागरिक’ भैदिए । अब आँसु बग्न थाल्यो । कतै दुःखको आँसु । कतै खुसीको आँसु ।
अनि त के थियो ! ‘अनागरिक’ गृहमन्त्रीका लागि बरबरी बगेका आँसुले एकाएक प्रेमप्रसादको लागि ह्वारह्वारी बलेको सबै आगो निभाइदिए । स्वात्तै ।