Monday, January 30
Shadow

परिवारसँग समय बिताउँदै खुशी देखिए सन्दीप लामिछाने, मैदान फर्किन हतार नगर्ने!

काठमाडौं ।

पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेपछि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने यतिबेला परिवारसँग समय व्यतित गरिरहेका छन् । हात्तीवनस्थित घरमा बुवाआमा र परिवारका सदस्यसँग बसिरहेका उनको मानसिक स्वास्थ्य सुधारोन्मुख छ ।

बलात्कार आरोपमा बन्दी जीवन बिताइरहँदा सन्दीपको मानसिक स्वास्थ्यमा समस्या उत्पन्न भएको थियो । डिप्रेसनका लक्षणहरु देखिएपछि उनलाई जेलभित्रै काउन्सीलिङ समेत सुरु गरिएको थियो ।

जेलबाट बाहिर निस्किएपछि भने उनी धेरै हदसम्म आत्मविश्वासी देखिएका छन् ।स्रोतले भन्यो, ‘उच्च अदालतको आदेशपछि उनको मनोविज्ञान फेरिएको छ । आफूले न्याय पाउनेमा उत्साही र आशावादी देखिएका छन् ।’

सन्दीप अहिले परिवारमा रहेका बालबच्चासँग बढी समय बिताइरहेका छन् । दाजूका छोराछोरी र अन्य आफन्तका बच्चाहरु अहिले उनको परिवारमा छन् । अहिले उनलाई काउन्सीलिङको आवश्यकता नदेखिएको स्रोतको भनाइ छ ।

सन्दीपलाई बाहिरी व्यक्तिहरुसँग भने भेट्न दिइएको छैन । भेट्न आउनेहरु पनि गेटबाटै फर्किने गरेका छन् ।‘मान्छेहरु आएर अनेकथोक सुनाउलान् र मानसिक असर पर्ला भनेर हामीले भेटघाट बन्द गरेका हौं,’ पारिवारिक स्रोतले भन्यो ।