काठमाडौं, १४ साउन ।
हृदयन्द्र शाह नेपालका अन्तिम नवयुवराज । राजसंस्था हुँदा उनी बालकै थिए र नवयुवराज भनिन्थे । हृदयन्द्रलाई आफू नवयुवराज भएको याद पनि नहुनसक्छ ।
६ वर्षका बालक हृदयन्द्र राजसंस्थाको अन्तसँगै नारायणहिटीबाट आफ्ना हजुरबा तत्कालीन राजा ज्ञानेन्द्र शाह र मातापितासँगै बाहिरिनुपरेको थियो हृदयन्द्र २० वर्ष पुगे । उनी अमेरिकामा अध्ययनरत छन् । बिदाको समय पारेर आएका छन् । यसपटकको जन्मदिन नेपालमै मनाउन आए ।
हृदयन्द्र बालक हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई एउटा प्रस्ताव पठाएः ‘बेबि किङ’ । ज्ञानेन्द्रलाई गद्दी छाडेर नातिलाई गद्दीमा राख्न उनले विभिन्न माध्यमले खबर पठाएका थिए ।
गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले सार्वजनिक रुपमै ‘बेबि किङ’ को सम्भावना औल्याएकी थिइन् । गणतन्त्रको माग गरिरहेकाहरुलाई त्यो अभिव्यक्तिले चिढ्यायो । सुजाता आलोचित भइन् । तैपनि, पिता गिरिजाप्रसाद कोइरालाले राजसंस्थाका लागि ठाउँ राख्ने चाहनाबारे खुलाइन् ।