मृत्युवरणलाई स्वर्गारोहणपनि भनिन्छ ।
मृत्युपछि मानिस स्वर्गमा गएर बस्ने विश्वास गरिन्छ । यो लोकमा भने खरानी वा गलेर सकिन्छन् ।तर नेपालको स्याङ्जा जिल्लामा मृत्यु भइसकेका ४७१ जनाले मतदान गरेको कुरा बाहिर आएपछि अहिले विश्वभरी नै यस विषयको चर्चा भइरहेको छ ।
आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना धेरै ठाउँमा सकिएको छ । केही ठाउँमा जारी छ। उम्मेदवार र दलका नेता कार्यकर्ता मतपरिणाम पर्खिरहेका छन्। तर स्याङ्जा–२ मा अझै मतगणना सुरु भएको छैन ।
त्यहाँ सत्ता गठबन्धनले बुथ कब्जा गरेर फर्जी मत हालेको अरु दलहरुको आरोप छ ।नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र नेकपा एमालेका सचिव पद्मा अर्याल लडेको स्याङ्जा–२ मा भने यही कारण अहिलेसम्म मतगणना सुरू हुन सकेको छैन।
आइतबार मतदान सकिएपछि कांग्रेस कार्यकर्ताले ‘बुथ कब्जा’ गरेको भन्दै एमालेले मतगणना हुन दिएको छैन।एमालेले लगाएको बुथ कब्जाको आरोपलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टीकराज गुरूङसहित अन्य साना दल र स्वतन्त्र उम्मेदवारले पनि समर्थन जनाएका छन्।
स्याङ्जा–२ मा पर्ने चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राम मन्दिर मावि, वडा नम्बर ५ को जनसक्रिय आधारभूत विद्यालय र सोही वडाको दिनदयाली आधारभूत माविको बुथ कब्जा भएको एमालेको आरोप छ।