अर्घाखाँची, सन्धिखर्क ।
नगरपालिकाको एक मतपेटिका खन्याउँदा पत्र भेटिएकाे छ । गणक दामोदर आचार्यका अनुसार पत्रमा मतदाताले उम्मेदवार चयनप्रति नै असन्तुष्टि जनाएका छन् ।गणक आचार्यले भने, ‘शुरुमा त खाली मतपत्र भेटिएपछि सबै आश्चर्यचकित भए । पछि पत्र खोलेर हेर्दा भने पत्रले भावुक बनायो ।
खाली मतपत्रलाई बेरेर राखिएको पत्रमा मतदाताले उम्मेदवा रहरूप्रति तीव्र असन्तुष्टी जनाएका छन् । एक पेजको पत्रमा मतदाताले जनताको कालो दिन भनेका छन् ।’पटक पटक परीक्षण भएकाहरूलाई के मत दिनु ? ती मतदाताले यिनै जनप्रतिनिधिबाट जिल्लाको विकास नहुने जनाएका छन् ।
उनले लेखेका छन्, ‘आगामी निर्वाचनमा सन्धिखर्क नगरपालिकाको नगर प्रमुख पद जितेर कसरी काम गरेन सकिन्छ भनेर आफूले देखाउने दाबी समेत गरेका छन् ।’उनले थप लेखेका छन्- मत गन्दै गरेको तपाईँहरूलाई पनि लागेको होला, कस्तो व्यक्तिको मत गनेर विजयी घोषणा गर्नुपरेको छ ।
ती मतदाताले सन्धिखर्क-गोरुसिंगे सडक, अस्पताल, कलेज, सन्धिखर्कको जग्गा अतिक्रमण जस्ता विषयमा एक पटक सोच्न सबैलाई अनुरोध गरेका छन् ।
अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको मतगणना चलिरहेको छ । एमालेका सचिव टोपबहादुर रायमाझीले अग्रता लिइरहदा कांग्रेस नेतृ पुष्पा भुसालले रायमाझीलाई पछ्याइरहेकी छिन् ।